नियम
विवरण तथा कागजात पेश गर्नु पर्ने
(१) ऐनको दफा ४ को उपदफा (३) को प्रयोजनको लागि संवत् २०७३ साल चैत २७ गते सम्ममा आयोगमा दर्ता कायम रहेको दलले संवत् २०७४ साल चैत २६ गते भित्र ऐनको दफा ५ को उपदफा (१) को खण्ड (क), (ख), (ग), ( च) र (छ) बमोजिमको विवरण तथा कागजात अनुसूची–८ बमोजिम आयोग समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम विवरण तथा कागजात पेश गर्दा सो दलको प्रमुख पदाधिकारी वा अधिकार प्राप्त व्यक्तिले दस्तखत गरी निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पेश गरेको विवरण तथा कागजात जाँचबुझ गर्दा कुनै विषय स्पष्ट नभएमा आयोगले सम्बन्धित दलसँग थप कुरा बुझ्न वा थप विवरण माग गर्न सक्नेछ र यसरी माग गरेको विवरण आयोगमा बुझाउनु त्यस्तो दलको कर्तव्य हुनेछ ।
(४) यस नियम बमोजिम दलले पेश गरेका विवरण तथा कागजात जाँच गरी आयोगले त्यसको अभिलेख राख्नेछ ।